काठमाडौँ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ। सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ।
समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिइन्। त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ।
विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषयलाई व्यवस्थित गरिएको छ। यसमा अति विशिष्ट व्यक्तिहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन प्रस्ताव गरिएको छ जसका पदका अघि ‘सम्माननीय’ भनी सम्बोधन गर्नुपर्ने हुन्छ।
त्यस्तै ‘विशिष्ट व्यक्ति’का सूचीमा रहेका सङ्घीयमन्त्री र सांसद, प्रदेश प्रमुख–मुख्यमन्त्री–मन्त्री–सभामुख, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्य, महान्यायाधिवक्ता, पूर्वअतिविशिष्ट पदाधिकारी तथा संविधानसभाध्यक्ष–उपाध्यक्ष–सदस्यलाई भने पदका अघि ‘माननीय’ शब्दले सम्बोधन गरिनेछ।
महामहिम
गैरसरकारी विधेयकका रूपमा गोपीबहादुर सार्की आछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिलाकुमारी, डा वेदुराम भुसाल, रमेशजङ्ग रायमाझी र शेखरकुमार सिंहले दर्ता गराएको विधेयकमा विदेशी राष्ट्रप्रमुख, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, संयुक्त राष्ट्र सङ्घ र सार्कका महासचिव, अन्तरसरकारी क्षेत्रीय सङ्गठनका पदाधिकारी र नेपालस्थित विदेशी कन्सुल जनरललाई भने पदका अघि ‘महामहिम’ शब्द प्रयोग गर्न प्रस्ताव गरिएको छ।





