बारा : बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको खुलेको हाे ।
जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार २२ वर्षीय पूर्वशिक्षिका राधा रहेको बताएको छ । जिप्रकाका प्रवक्ता डीएसपी ददीराम न्यौपानेले विवाहेत्तर सम्बन्धले हत्यासम्मको स्थिति निम्त्याएको बताए । राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी छ । राधाले भारतीय नागरिक मनोजसँग मिलेर सुटरलाई भाडामा लिएर हत्या गरेको देखिएको डीएसपी न्यौपानले बताए ।
‘राधा गुप्ताले योजना बनाएर प्रिन्सिपल रुपेशको हत्या गरेको देखिएको छ । उनले मनोज गुप्तामार्फत ४ जना सुटरलाई प्रयोग गरेको देखिन्छ,’ डीएसपी न्यौपानले भने, ‘उनीहरूले कति रुपैयाँ दिएर सुटर मगाएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।’ प्रहरीले बुधवार २ जना सुटरसहित ५ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले कलैया उपमहानरपालिका–६ की २२ वर्षीया राधा गुप्ता, उनका सहयोगीद्वय ३४ वर्षीय जामिल अख्तर र कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी, सुटरद्वय भारत मोतिहारी पूर्वी चरम्पारणका २३ वर्षीय चन्दन कुमार र कुमार राजपुतलाई सार्वजनिक गरेको छ ।
राधा र मनोजको विगत ३ वर्षदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो । त्यसै विषयमा मनोज र रुपेशको विवाद भएको प्रहरीले जनाएको छ । भारत मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहियाका २५ वर्षीय सजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी र २० वर्षीय कामेश्वरसहनीले गोली प्रहार गरको खुलेको छ । उनीहरू सबै फरार रहेका छन् ।





