कोशी प्रदेश सरकार विद्रोहको आवाज हो : शेखर कोइराला

२०८० कार्तिक १५, बुधबार

पोखरा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार विद्रोहको आवाज भएको बताएका छन् । बुधबार पोखरामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको प्रथम क्षेत्रीय सम्मेलन २०८० मा उनले सो कुरा बताएका हुन् ।

“कोशी सरकार जनताको विद्रोहको आवाज हो तर कोशीकै कारण सङ्घ र अन्य प्रदेशका सरकारमा कुनै फेरबदल आउँदैन” उनले भने । नेता कोइरालाले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा हाम्रो नेता हो, तर कहिलेकाहीँ जनचाहाना विपरीत निर्णय गर्दा विद्रोह गर्नुपर्छ र भएको पनि छ  । त्यो कांग्रेसको सुन्दर पक्ष हो ।’

नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा बसेर आन्दोलन गर्छु भन्नु उचित नहुने बताए । दाहाललाई प्रश्न गर्दै उनले भने, “मुलुकमा उत्पादकत्व बढाइ रोजगारीका अवसर सिर्जना गरी मूल्य घटाउने हो या सडक तताउने हो ?” प्रधानमन्त्री स्वयम विराटनगर गएर जातीय राज्य बनाउँछु भन्नु जायज नभएको उनले बताए । नेता कोइरालाले प्रश्न गर्दै भने, “उहाँ माओवादी केन्द्रको नेता मात्र नभई मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । सस्तो लोकप्रियताका लागि बोल्दै जाने हो भने मुलुक अराजकतातर्फ जाँदैन ?”

‘गिरिजाबाबु पनि पोखरा आएपछि शक्ति लिएर जानुहुन्थ्यो, कार्यकर्ताको मनोबल पनि उच्च हुन्थ्यो, आज त्यो शक्ति लिएर म पनि जाँदैछु, अब तपाईँहरू जनताका माझ जानुहोस्’ कोइरालाले आग्रह गरे । पार्टीका सहमहामन्त्री जीवन परियारले सङ्घ, प्रदेश र स्थानीय सरकार आफ्नै पक्षमा रहेको हुँदा पनि जनताको अपेक्षाअनुरूप काम हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

केन्द्रीय सदस्य गुरु बरालले पार्टीका नेता तथा कार्यकर्ताबाट सकारात्मक कुराहरू मात्र बाहिर आउनुपर्ने बताउँदै केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणले पार्टीलाई फाइदा नगरेको बताए । अर्का सदस्य शारदा पौडेलले स्थानीय तहमा रहेका सरकारले जनअपेक्षाअनुरूप काम गरेमा कांग्रेस बलियो भएर जाने बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको बताए । उनले कांग्रेस सबै क्षेत्रबाट सच्चिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसक्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ का सभापति दिपेन्द्रमणी लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश उपाध्यक्ष कल्पना तिवारी, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलगायतले कांग्रेस केन्द्रबाटै सच्चिनुपर्ने र गुटको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सचिव सरोज केसी, ओमप्रकाश गुरुङ र सभापति लामिछानेले पार्टीको सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत  गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार