रामेछाप : तारा एयरका दुई क्याप्टेनको झै झगडा जिल्ला प्रहरी कार्यालय रामेछापले मिलाएको छ । शुक्रबार दिउँसो उक्त कार्यालयमा भएको छलफलपछि वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठ मिलापपत्र भएको हो ।
प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार छलफलमा क्याप्टेन श्रेष्ठले वरिष्ठ क्याप्टेन साहलाई नियतवस नलडाएको बताएका थिए । छलफलको क्रममा क्याप्टेन श्रेष्ठले सिनियर क्याप्टेन साहलाई लडाउने आफ्नो कुनै नियत नभएको बताएका थिए । हात मिलाउन खोज्दा अन्जानवस साह लड्न पुगेको दाबी उनले गरे ।
श्रेष्ठले वरिष्ठ क्याप्टेन आफ्नो गुरु भएको र सो घटनामा क्षमा दिन आग्रह गरेका थिए । श्रेष्ठको अनुरोध पछि क्याप्टेन साहले श्रेष्ठबाट भएको उक्त क्रियाकलाप प्रति क्षमा दिँदै भविष्यमा कुनै रिस नराख्ने भनि मेलमिलापको कागजमा दस्तखत गरेका थिए । ‘मैले जिल्ला प्रहरी कार्यालयमा छलफलमा बोलाएका दुवै पाइलटले मेलमिलापको कागजमा सही छाप गरी अंकमाल गरी निस्कनुभयो,’ डीएसपी पराजुलीले भने, ‘नेपाल नागरिक उडड्यन प्राधिकरणको कारबाही सम्बन्धी विषय हामीलाई जानकारी हुने कुरा भएन ।’
शुक्रबार बिहान लुक्ला उडान गरी रामेछाप विमानस्थलमा अवतरण गरेका क्याप्टेन साहलाई हात मिलाउने क्रममा श्रेष्ठले धकेलेर विमानस्थलको पार्किङमा लडाइदिएको बताइएको थियो । लडेका साह उठेपछि दुवै क्याप्टेनबिच हानाहान भएको थियो । उक्त घटनामा सामान्य घाइते भएका साहले मन्थलीको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए ।
घटनापछि यात्रुसहितको जहाज लिएर लुक्लामा पुगेका क्याप्टेन श्रेष्ठलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यही ग्राउण्डेड गरेको थियो । मन्थलीमा रहेका क्याप्टेन साहलाई पनि ग्राउण्डेड गरेको थियो । प्राधिकरणले दुवै क्याप्टेनलाई शुक्रबारदेखि नै उडानमा प्रतिवन्ध लगाएको छ । त्यसै गरी झगडामा संलग्न क्याप्टेनलाई यात्रु हालेर जहाज उडान गर्न अनुमति दिएको भन्दै रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई पनि प्राधिकरणले निलम्बन गरेको छ ।
क्याप्टेन साहले शान्ति सुरक्षाको लागि निवेदन गरेपछि लुक्लामा पुगेर ग्राउण्डेड भएका क्याप्टेन श्रेष्ठलाई प्रहरीले अर्को जहाजमा यात्रुको रुपमा शुक्रबार नै मन्थली झिकाएको थियो ।





