काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,’प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’






