सात वर्षदेखि पुल अलपत्र

२०८० मंसिर ३, आईतवार

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ ।

२०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ । फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ । यस क्षेत्रका चार वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन जलविद्युत् आयोजनाको सामान ढुवानी हुने यो राजमार्गमा पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुरानो पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । आयु सकिसकेकाले जीर्ण पुल कुनै पनि बेला ढल्न सक्ने जोखिम छ ।

दोलखा जिल्लाको सदरमुकाम चरीकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी, रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताए। निर्माण कम्पनीले हालसम्म पुलको जग र पिल्लरबाहेक अन्य संरचना बनाउन सकेको छैन । दाहालले भने, “चरीकोट–जिरी सडकसँगै निर्माण होला कि भन्ने आशा गरेको पुल सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्षअघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै ठुला सवारीसाधन ओहोरदोहोर गराउनु परेको छ ।”

करिब ४० वर्षअघि चरीकोट–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । पुरानो पुल जीर्ण अवस्थामा पुग्दासमेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईंले दुःखेसो पोखे  । भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकासमेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनीतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । कोरोना महामारीबाट पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदासमेत अझै पुल निर्माण हुन सकेको छैन । ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार