इजरायलले सार्वजनिक गर्‍यो हमासले नेपालीलाई बन्धक बनाएको भिडियो

२०८० मंसिर ४, सोमबार

काठमाडौं : इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर)मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन् ।

भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।

इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतंकवादी’ भएको जनाएको छ । उनीहरुले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको आरोप पनि इजरायलले लगाएको छ ।

उक्त अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला परेको भन्दै इजरायलले भिडियो सार्वजनिक गरेको छ । उक्त सुरुङको प्रवेशद्वार माइन र बुलेट प्रुफयुक्त रहेको उल्लेख गरेको छ । गाजा क्षेत्रमा सुरुङ र बंकरको ठूलो सञ्जाल भएको इजरायलको दाबीलाई हमासले भने खण्डन गर्दै आएको छ ।

यसअघि हमासले बन्धक बनाएका एकजना १९ वर्षीया इजरायली युवतीको शव अल शिफा अस्पताल नजिक फेला परेको थियो । इजरायलको दाबी अनुसार हमासले उनको हत्या गरेको हो । तर हमासले भने इजरायलको हवाई आक्रमणमा परी उनको मृत्यु भएको जनाएको छ ।

https://twitter.com/IDF/status/1726319791865016493?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1726319791865016493%7Ctwgr%5E22f24a5e71743989929afc1acbd1849cdb5eb480%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2023%2F11%2F1394419

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार