ललितपुरमा अत्याधुनिक दमकल

२०८० मंसिर ७, बिहीबार

ललितपुर : ललितपुर  महानगरपालिकाले  आधुनिक  प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाले विपत् व्यवस्थानका लागि इसुजी कम्पनीका दमकल सञ्चालनमा ल्याएको हो । आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गरेका थिए । जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपियाँमा महानगरपालिकाले खरिद गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रमुख महर्जनले महानगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने सूचकमध्ये प्रविधियुक्त दमकल पनि एउटा सूचक भएको भन्दै महानगरपालिकाले आगलागी भएका बेला सहजै आगो नियन्त्रण गर्न दमकल सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार धुवाँमा पनि देखिने लाइट जडानयुक्त, अरू दमकलभन्दा छोटो भएकाले साँघुरो स्थानमा सहजै जान सक्ने गरी दमकलमा प्रविधि जडान गरिएको छ । पेट्रोल पम्प र केमिकल कारखानामा आगलागी भयो भने पनि उक्त दमकलले आगो नियन्त्रण गर्न सक्ने दाबी महानगरपालिकाको छ ।

प्रमुख महर्जनका अनुसार यो फोर ह्विल दमकल हो । यसले हिलो, उकालो बाटोमा पनि सजिलै आवतजावत गर्न सक्छ । काठमाडौँ उपत्यकाका जुनसुकै स्थानमा पनि आवश्यक पर्दा महानगरपालिकाले दमकल सहयोगस्वरूप उपलब्ध गराउँछ ।

दुई हजार पाँच सय लिटरको पानी ट्याङ्क र तीन सयभन्दा बढी लिटर फोमको भण्डारण क्षमता दमकलमा छ । आगलागी भएको ठाउँनजिकै पोखरी वा इनार भए त्यहाँको पानी तानेर आगो निभाउन प्रयोग गर्न सक्ने क्षमता पनि छ । यससँगै महानगरपालिकामा यसअगाडिका चार वटा गरी अब छ वटा दमकल भएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार