पोखरा : पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैँमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।
बिहान ५ बजेबाट खुला हुने अन्नपूर्ण केबलकारबाट बिहानको सूर्योदय निकै मनमोहक देखिन्छ । पर्यटक केबलकारबाटै फेवाताल, तालमाथि तौरेका डुङ्गा, ताल पारिको हरियाली जङ्गल, गुम्बा र महादेवको मूर्तिलाई नियाल्न पाउँदा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्छन्। साँझ ६ बजेपछि भने केबलकार बन्द हुने अन्नपूर्ण केबलकार प्रालिका बजार निर्देशक अरुण कोइरालाले जानकारी दिए। केबलकार चढेपछि मकैसोरी जङ्गल, ढकालथर, पुरानो पोखरालाई प्रतिबिम्बित गर्ने पुराना गाउँको झझल्कोसँगै सराङकोट पुगिन्छ। त्यहाँ पुगेपछि प्रकृतिको स्पर्शपछिको क्षण झनै आनन्दित हुने पर्यटक बताउँछन्।
सराङकोटबाट देखिने सेती नदी, हेम्जाको फाँट, अर्मलाको डाँडा, धम्पुसको गाउँ, हिमाली शृङ्खलाले पोखरालाई सच्चिनै सिँगारेको अनुभूति हुन्छ। सँगसँगै सराङकोटबाट फेवा किनारासम्म उडान भर्ने प्याराग्लाइडिङको दृश्य पनि अवलोकन गर्न पाउँदा रमाइलो नहुने कुरै भएन। फेवातालको किनार पोखरा–१८ बाट सराङकोट जाने गरी निर्माण गरिएको केबलकारले पोखराको पर्यटन फस्टाउन विशेष सहयोग गरेको छ। कोरोना सङ्कट जस्ता विविध प्राविधिक कठिनाइका बाबजुद अहिले अन्नपूर्ण केबलकार पोखरामा घुम्न छुटाउनै नहुने गन्तव्य मध्येको एक भएको छ।
बेलायतबाट पोखरा घुम्न आएका माइकल ब्राउनले भने, ‘‘पोखरा आफैमा सुन्दर छ, त्यसमा झन् केबलकार चढेर ताल, हिमाल र पोखराको सुन्दरतालाई हेर्न पाउँदा मन आनन्दित भएको छ’’, उनले थपे , ‘‘आज दिउँसो केबलकार चढ्न आएँ, भोलि बिहानको सूर्योदयलाई मैले मिस गर्नेछैन।’’ काठमाडौँको मैतीदेवीबाट आउनुभएकी रुचिला प्रधानले पोखरा जति घुमे पनि मन लोभ्याउने बताए। पर्यटकको बसाइँ लम्बाउन अन्नपूर्ण केबलकार थप गन्तव्य भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। यसले पोखरामा पर्यटकको औसत बसोबास लम्बिने उनको भनाइ छ।
विशेष गरेर यस वर्षको दसैँ र तिहारको बेला बाह्यसँगै आन्तरिक पर्यटक बढी घुम्न आएको निर्देशक कोइरालाले जानकारी दिनुभयो। उनले दैनिक एक हजारसम्मले सेवा लिने गरेको पनि बताए। दसैँ तिहारसँगै संस्थागत रूपमा शैक्षिक भ्रमणमा आउने विद्यार्थीका लागि २५ प्रतिशत छुट गरेको छ भने २० प्रतिशत रकम सामाजिक उत्तरदायित्व अनुरूप शैक्षिक संस्थालाई नै रकम प्रदान गरिरहेको कोइरालाले बताए। केबुलकारमा मान्छे बोक्ने १७ र सामान बोक्ने गुण्डला (डब्बा) १ सहित १८ वटा डब्बा सञ्चालन भइरहेको प्रा.लिका महाप्रबन्धक अन्जन बडगामीले बताए। प्रा.लिले सराङकोटमा भ्यूटावरसँगै रेस्टुरेन्ट पनि सञ्चालन गरेको छ।
करिब दुई अर्ब लगानीमा सञ्चालन भइरहेको सो केबलकार अस्ट्रियको डोपलमेयर कम्पनीद्वारा निर्मित र जापानको नेपोन केबलले इन्स्टल गरेको हो। एक हजार ५ सय २३ मिटर अर्थात् झण्डै पाँच हजार फिटसम्मको उचाइ रहेको यस केबलकारको एक डब्बामा आठ जनासम्ममा यात्रु बस्न मिल्छ। २.३ किलोमिटर लम्बाई रहेको यस केबलकारले प्रतिघण्टा ५ सय यात्रु बोक्ने क्षमता रहेको प्रा.लिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। सो केबलकारमा रहेको सिसा गुणस्तरीय भएकाले पनि फोटो र भिडियो पारखीको लागि उपयुक्त रहेको उनको भनाइ छ।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न निजी क्षेत्रको लगानीमा केबलकार निर्माण गरिएको हो। यसलाई पोखरेलीले मात्र नभई गण्डकी प्रदेशवासीले अपनत्व लिइदिनका लागि निर्देशक त्रिपाठीले आग्रहसमेत गरे।





