कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् ।
मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् ।
वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उनले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरे । यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले जानकारी दिए। जिउँदो खसी रु पाँच सय ५० प्रतिकिलोका दरले गोठबाटै काठमाडौँ, नेपालगञ्जलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।
“कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो”, उनले भने, “कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानै अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ ।”
किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोडेका छन् । निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन्। बाख्रापालनसम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन्। बाख्रालाई रोगव्याधि लागे, चोटपटक लाग्यो भने उपचार भने आफैँले गर्दै आएका छन् । भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ ।रासस





