रुपन्देही : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतालाई व्यवस्थाप्रति बितृष्णा जगाएर ऋण मिनाहाको नाममा राजनीतिक कुरा गरेर पुरानै व्यवस्था ठीक थियो भन्नु उनीहरुलाई ढाँटेर रमाउनू मुर्खताबाहेक अरु केही नहुने बताएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा शुक्रबार कांग्रेसको प्रथम जिल्लासभालाई सम्बोधन गर्दै थापाले पुरानो व्यवस्था ठीक थियो भनेर आन्दोलन गर्नु मूर्खतापूर्ण हुने टिप्पणी गरेका हुन् । व्यवस्थाप्रति शंका र उपशंका भए सबै मिलेर सुधार गरेर जानुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘गल्ती भएका छन्, सुधार्ने हो । तर, योभन्दा राम्रो गर्नुपर्छ भन्नुपर्ने ठाउँमा पहिलेकै व्यवस्था यो भन्दा राम्रो थियो, असल थियो, त्यो दिन पो ठीक थियो भन्यो भने त्यो भन्दा ठूलो मूर्खता केही पनि हुँदैन ।’
देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी कांग्रेसमात्र भएको उनको दाबी थियो । संघीय मर्म र भावनाअनुसार प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिन नसक्दा संघीयतामाथि प्रश्नचिन्ह खडा भएको उनको भनाइ थियो ।
‘नेपालमा एउटै मान्छे ४-५ पटक प्रधानमन्त्री किन बन्नुपर्छ ? सबै प्रधानमन्त्री बनेका मान्छे बसेर देश डुब्यो भनेर चिन्ता गरेको देख्छु । नेपालका प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्रीले अब उप्रान्त प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गरे भने पनि देशमा राजनीतिक समस्याको समाधान हुन्छ’, महामन्त्री थापाले भने, ‘एमाले, माओवादी, राप्रपालगायत अहिले आएका सबै दलहरु कांग्रेसको प्रतिस्पर्धीमात्रै हो, हाम्रो दुश्मन देशको गरिबी र बेरोजगारी हो । नेपाली कांग्रेसले संकल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठुलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ ।’





