ताप्लेजुङ : ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवास अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृह जिल्ला आएका सचिव भट्टराईको निवास अगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच घम्साघम्सी समेत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका विच दुई पक्षबीच घम्साघम्सी भएको हो ।
सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । सांसदहरु लगायतका कार्यकर्ता चियापान कार्यक्रमस्थल पुगिसकेको एमाले कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।
पहिचान पक्षधरले एमाले कार्यालय अगाडिपनि प्रदर्शन गरेका छन् । उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् । उनीहरुले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।





