बझाङ : अवैध रूपमा गाजाबाट चरेस बनाउने उद्योग सञ्चालन गरेर गाँजाको धुलो बनाउने उद्योग सञ्चालन गरेपछि जिल्लाको खप्तडछान्ना–७ गोर्खालीबाट ९१ केजी लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले लागु औषधका रूपमा प्रयोग हुने गाँजा, गाजको धुलो र धुलो बनाउन प्रयोगमा हुने विभिन्न सामाग्री सहित तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घर घनी खप्तडछान्ना–७ गोर्खाली बस्ने वर्ष ६४ का खडक खड्का, गोरखा जिल्ला अधिरकोट गाउँपालिका–२ खरिकोट बस्ने वर्ष ३८ का सन्तोष गुरुङ र पर्सा जिल्ला सुकैती पाटौली गाउँपालिका-९ लक्ष्मीपुर बस्ने वर्ष ५५का रामबहादुर गुरुङ रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए ।
घरधनी खडक खड्काको घरबाट गाँजाको पातबाट बनेको मसिनो धुलो स्लास्टिकका १० पोका १४ किलो २१० ग्राम, गाजाका दाना सहित गाजा राखेको सेतो कट्टा थान एकसहित २२ केजी २७५ ग्राम, गाँजाका दानासहित गाँजा रहेको पहेँलो त्रिपाल थान १मा २२ केजी ३५० ग्राम, गाँजाका दानासहित गाँजा रहेको सेतो त्रिपाल थान १ मा ३२ केजी ६८० ग्राम गरी जम्मा ९१ किलो ५१५ ग्राम लागु औषध नियन्त्रणमा लिएको उनले बताए ।अवैध रूपमा उद्योग सञ्चालन गरिएको र त्यसमा प्रयोग भएका डिजिटल तराजु, सेतो कपडाले बरेका प्लास्टिकका बाटा ५ थान, कैँची दुई थान, ब्लेड एक थान, कार्टुन टेप ३ थान ब्रस एक थान, रबर पोका एक थान, गाँजाको घुलो छान्न प्रयोग गरिने सेतो कपडा र गाँजाको घुलो राख्न प्रयोग गरिने प्लास्टिक एक थान बरामद गरेको छ ।
गाँजाबाट चरेस बनाउने प्रयोजनका लागि उद्योग बनाएको जिल्लामा यो पहिलो घटना हो । चरेस उत्पादनका हिसाबले प्रख्यात बझाङ जिल्लामा वर्षेनी अवैध रूपमा लाखौँको कारोबार हुन्छ । चरेसका व्यापारीले गाउँमै पुगेर अवैधरुपमा धनगढी हुँदै भारत निर्यात गर्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक शाहले भने, “यस्तो उद्योग नै बनाएर सञ्चालन गरेको र यस्तो चिजहरू पहिलो पटक देखेको हुँ । स्थानीयहरूको साथ र सहयोगले प्रहरीले यो मिसनबाट सफलता हासिल गरेको हो ।”
उनले घटनाबारे थप अनुसन्धान भइरहेको र यसको सञ्जाल कहाँसम्म छ भन्ने बारे अहिले यकिन गर्न नसकिने बताए । घर मालिक बोहराको घर भाडामा लिएर उद्योग सञ्चालन गरिएको थियो ।





