
काठमाडौं : इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् ।
बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ । युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो । हमासले आइतवारमात्रै १७ जना रिहाई गरेको थियो । इजरेलले पनि प्यालेस्टिनी बन्धकहरुलाई रिहा गरेको छ ।
इजरेल र हमासले चार दिनका लागि युद्ध विराम गर्ने सहमती अनुसार भएको थियो । सहमतिमा दुवैतर्फबाट बन्धक बनाइएकाहरुको मुक्त गर्ने सहमति गरेका थिए । हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।
गाजास्थित अल-शिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो । त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरेको थियो । हमासले बन्धक बनाइएकाहरुलाई मुक्ति गरिरहँदा आइतवार विपिन पनि बन्धकमुक्त हुन सक्ने अपेक्षा थियो । तर आइतवार पनि उनी रिहा भएनन् । परराष्ट्र मन्त्रालयले विपिनको रिहाईबारे अहिलेसम्म कुनै कुरा पनि बाहिर नआएको बताउँछ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हमासले बन्धक बनाएकाहरुलाई छोड्नेक्रम भइरहकाले जोशी पनि रिहा हुन सक्ने बताइन् । उनलाई छिटो भन्दा छिटो मुक्त गराउन इजराइलसँगै अन्य राष्ट्रहरुसँग पनि कूटनीतिक पहल जारी राखेको उनले बताइन् । ‘हाम्रो नागरिक बन्धक बनाइएका छन्, यसमा हामी गम्भिर छौं’ उनी भन्छिन्, ‘उनलाई रिहा गर्न हरेक खालका कुटनीतिक पहल गरिरहेका छौं । त्यसमा हामीले कुनै कसुर बाँकी राखेका छैनौं ।’ यसअघि नेपालले जोशीको रिहाइका लागि कतारसँग पनि आग्रह गरेको थियो ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपिनको रिहाईका लागि दूतावासले उच्च तहसँगै प्रयास गरिरहेको बताइन् । ‘हाम्रो प्राथमिकता उहाँको रिहाईकै लागि भइरहेको छ, छिटै सुरक्षित भेट हुनेमा आशावादी छौं,’ उनले भनिन् । इजरायलबाट आएका प्रतिक्रियाहरु सकारात्मक रहेको उनले बताइन् ।