धुलिखेल : गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।
वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ । सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ । सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताइन् । “बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या व्यहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ ।”





