विपिन जोशीको रिहाइका लागि थप पहल गरिने

२०८० मंसिर १४, बिहीबार

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट पुगेका छन् । परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गरेका हुन् । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गरे ।

सो आक्रमणपछि छोरा कहाँ छ भन्ने कुरा कहिलेसम्म थाहा पाउन नसकेको भन्दै विपिनकी आमा भावविह्वल भए । उनलाई सम्झाउँदै सरकारले उनको सकुशल रिहाइका लागि पहल गरिरहेकाले छिट्टै पत्ता लाग्ने आश्वासन दिनुभयो । छोरा बेपत्ता भएदेखि विपिनको घरमा न दसैँ न तिहारको अवस्था रहेको उनका बुवाले बताउनुभयो । छोराको अवस्थाको जानकारीसँगै सकुशल रिहा गरिदिन सरकारसँग उनले अनुरोध गरे ।

यसैबिच मन्त्री साउदले विपिनको रिहाइको पहलका लागि नेपाल सरकारका तर्फबाट आफू कतार भ्रमण जान लागेको सो अवसरमा बताए । मन्त्रालयले दिएको जानकारी अनुसार इजरायलमा विद्रोही हमास समूहको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सिर २३ गते कतार जान लागेका हुन्  ।

यसअघि गत ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्री मुखैरीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर पहल बलियो बनाउन निर्देशन दिएका थिए  ।

इजरायलमा भएको आक्रमणमा दस जना नेपालीको ज्यान गएको थियो । बेपत्ता विपिन हमास समूहकै कब्जामा रहेको दाबी इजरायली सरकारले गरे पनि त्यसको स्पष्ट पुष्टि हुने आधार अझै फेलापरेको छैन । हमास समूहले पनि उनी आफूहरूसँग रहेको औपचारिक जानकारी दिएको छैन । युद्धविराम गरेर मानवीय सहायता सामग्रीका लागि बाटो खोल्दै धेरै बन्दी रिहा भएका छन् । तर विपिनको अवस्था अज्ञात छ ।

उनले कतार बसाइ क्रममा दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने जनाइएको छ । सो कार्यक्रम डिसेम्बर १० देखि दुई दिनसम्म चल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार