काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार जहाज दुई घण्टाअघि नै दुबई प्रस्थान गर्दा ३१ यात्रु त्रिभुवन विमानस्थलमै छुटेका छन्।
दुबईको नियमित उडान तालिका २ घण्टा अघि सार्दा टिकट काटेका यात्रु छुटेका हुन्। प्रधानमन्त्री प्रचण्डले नै सम्बोधन गर्ने कोप २८ मा सहभागी हुन जान लागेका प्रज्वल विक्रम रानाले उडान छुटेको बताए।
काठमाडौँ देखि दुबई जाने जहाजको उडान तालिका साढे ११ बजेको भनिएपनि गएराति साढे ९ बजे नै त्रिभुवन विमानस्थलबाट विमान उडेको थियो। ‘प्रधानमन्त्री जाने कारण २ घण्टाअघि उडान तालिका सरेको रहेछ,’ राणाले भने, ‘नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नै नदिदाँ धेरै जना छुटेका छन्।’
रानाले आफू साढे ८ बजे विमानस्थलमा पुग्दा बोडिङ गर्ने ठाउँमा कर्मचारी नै नभएको दाबी गरेका छन्। ३१ जनालाई नेपाल एयरलाइन्सले होटलमा लगेर राखेको छ। बिहीबार विभिन्न उडान मार्फत् उनीहरुलाई दुवई पठाउने नेपाल एयरलाइन्सले जानकारी दिएको छ।









