
डडेलधुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार मन्त्री बन्ने नीतिमा चलिरहेको बताएका छन्। एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार डोटीको सिलगढीमा जनसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
अहिलेको सरकार नीतिविहीन तरिकाले सञ्चालन भइरहेको आरोप उनको छ। उनले सरकार कसको नीतिमा चलिरहेको भन्दै प्रश्नसमेत गरे। ‘सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो। यो सरकार धेरै टिक्दैन, अब देश हामीले नै बनाउने हो,’ उनले भने। उनले देशमा अराजकता, आतंक फैलिरहेको र सरकार त्यसको पक्षपोषण गरिरहेको बताए। अध्यक्ष ओलीले अब पार्टीलाई समृद्धको बाटो लैजान एकताबद्ध ढंगबाट अगाडि बढ्नुपर्ने बताए।