
काठमाडौँ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको महासंघ केन्द्रीय कार्यसमितिको पाँचौ पूर्ण बैठकले महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्नेगरी कार्यतालिका पारित गरेको अध्यक्ष ओमबहादुर घर्तीमगरले जनाएका छन्।
बैठकले महाधिवेशनका लागि ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नारा पनि तय गरेको छ।
यस्तै बैठकले महाधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्ला अधिवेशनहरू सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ।
बैठकले पारित गरेको कार्यतालिकाअनुसार पुस २१ गते वडा अधिवेशन, माघ २१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, फागुन ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, फागुन १९ गते जिल्ला अधिवेशन र चैत १७ र १८ गते प्रदेश अधिवेशन गर्ने मिति तय गरेको छ।
यस्तै महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्तिमगरको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।