धनुषा : नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशबाट हुने तस्करी रोकथाम, दसगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अवैध संरचनालाई हटाउने विषयमा दुवै देशका सुरक्षा अधिकारी कडाइका साथ प्रस्तुत हुनेसहितको छबुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डेले जानकारी दिए ।
उनले बैठकमा जनकपुरधाममा आउन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतबाट आउने तीर्थालुलाई सीमा क्षेत्रको प्रवेश सुरक्षित र सहज गर्नुका साथ साथै आपराधिक क्रियाकलापको सूचना दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहज रूपमा प्रदान गर्ने विषयमा समेत सहमति भएको बताए ।
तस्करहरूले नेपालबाट भारतमा लग्ने अवैध रक्सी र भारतबाट नेपालमा भिœयाइने मनोद्वीपक औषधको नियन्त्रण गर्ने विषयमा पनि सहमति भएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । बैठकमा नेपालतर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले गरेका थिए भने भारततर्फको नेतृत्व मधुुवनी जिल्लाका डिएम अरबिन्दकुमारले गरेका थिए ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सप्तरी र सिराहा गरी चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अनुसन्धानका जिल्ला प्रमुख र भारत विहारको मधुवनी जिल्लाका डिएम, मधुवनी जिल्लाका एसपी सुशीलकुमार, मधुवनीका डिडिसी विशालराजसहितका सुरक्षा अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।





