माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड

२०८० मंसिर १९, मंगलवार

ढल्केवर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताएका छन् ।  मङ्गलबार महोत्तरीको गौशालामा आयोजित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘‘मैले पार्टी अध्यक्षको नाताले, देशको प्रधानमन्त्रीको नाताले देश दुनियाँ जसरी देखेको छु। त्यसरी हेर्दा हाम्रो पार्टी मात्रै कमजोर हुने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ।’’ उनले माओवादीबाहेक कसैले देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा काँध नथाप्ने बताए। ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेर कुनै निरङ्कुशतन्त्र आयो भने यो देश टिक्नेबाला छैन। देशको अस्तित्व खतरामा पर्छ। माओवादीबाहेक अरू कसैले वा कुनै पार्टी विशेषले देशको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पक्षमा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काँध थाप्नेबाला छैन’’, उनले भने।

अध्यक्ष प्रचण्डले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउन सञ्चालन गरेको “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” एक महिना थप गरिएको घोषणासमेत गर्नुभयो। माओवादी र जनताको सम्बन्ध सुदृढ र सुमधुर बनाउन रूपान्तरण अभियानको समयावधि थप गर्नुपर्छ भन्ने कुरा कार्यकर्ताबाट आएपछि एक महिनाका लागि अभियान थपिएको उनले बताए।

उनले भने, ‘‘अब फेरि समय थप्दैनौ। अभियान सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ। समग्र अभियानको समीक्षा गरे लगत्तै विधान सम्मेलन गर्छौँ। त्यसलगत्तै तीन महिने पार्टी सुदृढ अभियान चलाउँछौँ।’’ मधेश प्रदेश माओवादीका लागि उर्वरभूमि भएको बताउँदै अध्यक्ष प्रचण्डले मधेश कम्युनिस्ट आन्दोलनको स्थापनादेखि अहिलेसम्म अग्रगमनको पक्ष रहँदै आएको र नेपालकै लागि एउटा राम्रो सन्देश दिँदै आएको बताए।

प्रशिक्षण कार्यक्रममा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, अभियानका जिल्ला संयोजक र जिल्ला अध्यक्षसहित एक हजारभन्दा बढी नेताको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार