उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र

२०८० मंसिर १९, मंगलवार

काठमाडौँ : ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएसँगै जंगी अड्डाले अर्का उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ । सिग्देललाई रथीमा बढुवा गर्न मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने फाइल रक्षा मन्त्रालयमा छ । तर, सिग्देलको अर्को ‘विवादित’ फाइल पनि रक्षा मन्त्रालयमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । सिग्देलविरुद्ध परेको उजुरी सँगै राखेर आवश्यक छानबिन गर्न रक्षामा पत्राचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताए ।

ती अधिकारी भन्छन्, ‘आयोगमा उजुरी आएको थियो, आवश्यक छानबिन गरेर रिपोर्ट पठाउन रक्षा मन्त्रालयमा पठाएका छौँ । जंगी अड्डाले मङ्सिर ८ मा सिग्देललाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि जंगी अड्डाले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको हो ।

के हो विवाद ? 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका अशोकराज सिग्देलको वास्तविक जन्ममिति २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

सिग्देलले २०४० असोज ९ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकताको प्रमाणपत्र लिँदा १९ वर्ष उल्लेख गरेको भेटिएको छ । जिल्ला प्रशासनको ढड्डामा उनको जन्ममिति २०२१ साल उल्लेख छ । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति २०२३ साल माघ १९ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२१ नै उल्लेख छ ।

सुपिङ क्याम्पसको पत्रको आधारमा नागरिकतामा उल्लेखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरी उनी २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरकर्ताले दाबी गरेका छन् ।

सिग्देलले २०५८ मा जाजरकोट जिल्लाबाट प्रतिलिपी नागरिकता बनाएका थिए । त्यसबेला चलखेल गरेर उनले नागरिकतामा जन्ममिति २०२३ माघ १९ कायम गराएको उजुरकर्ताको दाबी छ । २०७६ मा उपरथीमा बढुवा हुने बेला उजुरी परेपछि उनले त्रिभुवन विश्वविद्यालय र प्रवेशिका परीक्षा (एसएलसी) को अभिलेखमा समेत केरमेट गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार