विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह

२०८० मंसिर २०, बुधबार

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् ।

उनले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गरेका हुन् । इजरायलमा आक्रमण गरेको हमास समूहको नियन्त्रणमा रहेको अनुमान गरिएका नेपाली नागरिक जोशीको रिहाइका लागि सबै उपाय लगाएर पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार भेटवार्ताका क्रममा कतारका राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबिच फेरि युद्ध सुरु भएको र त्यसलाई रोक्न कतार सरकारले पहल गरिरहेको बताए । साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास जारी रहेको बताए । परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, “परिस्थिति जटिल छ । यद्यपि अर्को युद्धविरामका लागि पहल भइरहेको छ । हामीले बन्दी छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ ।”

परराष्ट्रमन्त्री साउदले यसअघि मङ्सिर ८ गते कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए । यस्तै उनले मङ्सिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।  परराष्ट्रमन्त्री साउद पाँच दिनपछि कतारमा सुरु हुने दोहाको २१ औँ फोरममा सहभागिता जनाउन त्यसतर्फ जाँदै छन्। सो भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदले प्रष्ट पारेका छन् । मङ्गलबारको भेटवार्तामा उनको कतार भ्रमणका विषयमा पनि थप छलफल भएको थियो । भ्रमणका लागि आवश्यक तयारी र कार्यसूचीका बारेमा पनि सो क्रममा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार