लम्जुङ : मानसिक सन्तुलन गुमाएर पाँच वर्षदेखि साङ्लोले बाँधिएको अवस्थामा लमजुङमा ३० वर्षीय युवकको उद्धार गरिएको छ । मानवसेवा केन्द्र लमजुङबाट गएको एक टोलीले ती युवाको उद्धार गरेको हो । लमजुङ दूधपोखरी गाउँपालिका–२ भुम्लीचोक गाउँबाट साङ्लोले बाँधेर राखिएको अवस्थामा ती युवकलाई उद्धार गरिएको हो ।
उनी मानसिक सन्तुलन गुमाई पाँच वर्षयता टहरामा साङ्लोले बाँधिएर कष्टकर जीवन बिताउँदै आएका थिए । ३० वर्षीय मेघराज गुरुङलाई मानवसेवा आश्रम लमजुङ नेतृत्वको टोलीले उद्धार गरेको हो । भुम्लीचोक उनको मावली गाउँ भएको बुझिएको छ । गोरखा अजिरकोट गाउँपालिका–२ केप्रुङ घर भएका मेघराजलाई बुबा बेपत्ता भएपछि आमा विष्णुमाया गुरुङले माइतमा ल्याएर आफूसँगै राख्न थालेकी थिइन् । जवान भएसँगै मेघराज वैदेशिक रोजगारीमा कतार गए ।
दुई वर्ष कतार बसेर फर्किएपछि उनी थप कमाउन मलेसिया गएका थिए । दुर्भाग्यवश त्यहाँ गएको एक साता नहुँदै उनी बिरामी भए र घर फर्काइए । उनलाई उपचारका लागि पोखरा, काठमाडौंलगायत सहरमा लगेको समेत मेघराजका मामा भूराज गुरुङले जानकारी दिए । तर, उपचार परिणाममुखी हुन सकेन । ‘त्यसपछि पनि स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिन थाल्यो,’ मामा भूराज भन्छन्, ‘बाध्यताले छाप्रोमा बाँधेर राख्नुपरेको हो ।’ मानसिक सन्तुलन गुमाएपछि मेघराजले घर धन्सारका झ्याल र ढोकाहरू फुटाउने, जो कसैलाई ढुंगा टिपेर हान्ने, पशुचौपायलाई काटिदिने गरेपछि असुरक्षित भएर छुट्टै छाप्रोमा राख्नुपरेको आमा विष्णुमाया गुरुङले बताइन् । उनका अनुसार एक्लो छोरा मानसिक सन्तुलन गुमेको र उनकै कारण परिवार तथा समाज असुरक्षित भएपछि एक्लै बाँधेर राख्नुपरेको हो ।
मेघराजलाई त्यस्तो अवस्थामा राखिएको जानकारी पाएपछि उद्धारका लागि त्यहाँ पुग्दा गाउँभन्दा केही मुनितिर टिनको छानोले छोपेको र रड गाडेर साङ्लोले बाँधेर राखिएको, शरीर नग्नप्रायः अवस्थामा उद्धार गरिएको टोलीमा गएका पत्रकार महासंघ जिल्ला उपसभापति अनुज अधिकारीले बताए । उनका अनुसार यस’bout स्थानीय तुलसी गुरुङले मानवसेवा आश्रममा जानकारी गराएका थिए ।
मेघराजको उद्धारका लागि गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, वडाध्यक्ष अमर गुरुङ, मानवसेवा आश्रम भवन निर्माण समिति अध्यक्ष मोहनबहादुर थापालगायतको टोली भुम्लीचोक गाउँमा गएको आश्रम संयोजक अनिता अधिकारीले बताइन् । उनका अनुसार युवकलाई उद्धार गरी बेंसीसहरस्थित आश्रम ल्याइएको छ । गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले आफू चढ्ने गाउँपालिकाको सवारीसाधनमा युवकलाई बेंसीसहर ल्याएका हुन् । अध्यक्ष गुरुङले युवकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सडकबाट उठाइएका, साङ्लोले बाँधेर राखिएको अवस्थामा उद्धार गरिएका कतिपयको स्वास्थ्यमा सकारात्मक परिवर्तनपछि आश्रमले उनीहरूको परिवारमा मिलन कार्यसमेत गराउँदै आएको छ । बेंसीसहर नगरपालिका–७ स्थित हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रममा हाल ३० जना नारायण, लक्ष्मी एवं बालगोपालले आश्रय लिइरहेका छन् । राजधानी





