काठमाडौं : श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणमा आज नेपाल आउँदै छन्। नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदैछ। बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्नेछन्।
बैठकमा नेपाल-श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ। बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, संस्कृति, रक्षा, जनसम्पर्क तथा कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने जनाएको छ।
बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने छ। नेपाल बसाईको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्।