काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौं उपत्यकामा वितरण गर्ने उनले उल्लेख गरेका छन्।
पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ। बाढी–पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौं उपत्यकामा पानी वितरण रोकेको थियो।
आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन। सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौंमा चर्को विरोध हुन थालेको छ।
दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो। भ्रेमाथानको पहिरोपछि मेलम्ची हिउदमात्र काठमाडौ ल्याउने काम हुदै आएको थियो। मेलम्चीसँगै लार्के र याङ्ग्रीबाट समेत पानी ल्याउने योजना सरकारले अघि सारे पनि भ्रेमाथान बाढीपछि मेलम्चीकै भविष्य अन्योलमा परेको थियो।