कोलम्बो-लुम्बिनी सिधा हवाई सम्पर्कबारे परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच छलफल

२०८० पुष ५, बिहीबार

काठमाडौं : नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ। काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको हो।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरूआत उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो। भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए। यस्तै, जलवायु परिवर्तनका कारण आ-आफ्नो मुलुकले भोग्नुपरेको समस्याका बारेमा पनि यी दुई मन्त्रीबीच कुराकानी भएको थियो।

यसैबीच नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक अहिले बसिरहेको छ। काठमाडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ। आजै नेपाल र श्रीलंकाबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार