काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनिया जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् । नेपाल एयरलाइन्सले बिहीबार ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आहृवान गरेको थियो ।
सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिबद्धता जनाए । उनले वर्षमा २० करोडभन्दा बढी घाटा व्यहोरोर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्योहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।
‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद् थर्काउने हामी त हो । हामी नै हो, संसद् पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकाय दिऔं भनेर टेण्डर निकाल्यो किन भन्छन् ? गर्नु के ? यो चाहीँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौं नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन । २० करोड भन्दा बढी घाटा वर्षमा हामीले चिनियाँ जहाजलाई तिरेर राख्नुपरेको छ । त्यसको इन्स्योरेन्स र पार्किङको । यो जहाज एमआई ६० दुई वटा छ, वाइट १२ तीन वटा छ । जम्मा ५ वटा छ । कसरी किन किनियो कसको स्वार्थमा किनियो थाहा छैन ।’
मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । उनले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गरे । ‘हामी सबैलाई जिम्मेवारी पदमा बसेपछि परिणाम दिने इच्छा हुन्छ नै । जिम्मेवारी पदमा बसिसकेपछि केही न केही जीवनमा अमिट छाप दिएर जाउँ भन्ने सबैलाई हुन्छ नै । मलाई पनि छ । तर गर्न खोज्दा खोज्दै सजिलो त छैन’ उनले भने ।