काठमाडौँ : उमेर सङ्ख्या मात्रै हो । प्रायः मान्छेहरूले यस्तै भनिरहेको सुनिन्छ । चर्चित सेलिब्रेटीहरुदेखि सर्वसाधारणहरूसम्म श्रीमान् र श्रीमतीबिच उमेरको ठुलो अन्तर पाइन्छ । धेरैजसोको सम्बन्ध ठिकठाक चलिरहेको पनि देखिन्छ । तर हालै भएको एउटा नयाँ अनुसन्धानले सम्बन्धमा उमेरको अन्तरको निकै ठुलो अर्थ हुने देखाएको छ । दम्पतीबिच उमेरको धेरै अन्तरले सम्बन्धको स्थायित्वमा नै गहिरो असर पर्ने अनुसन्धानले देखाएको छ ।
पार्टनर बिच उमेरको अन्तर १० वर्षभन्दा धेरै भयो भने सम्बन्धमा कठिनाइ आउन सक्छ । कुनै पनि सम्बन्धमा व्यक्ति खुसी हुनुको कयौँ कारण हुन्छन् । तर पार्टनरहरुबीचको आदर्श उमेर अन्तरले सम्बन्धको सफलता तय गर्छ भन्ने कुरा चाँहि तपाईँलाई अचम्मको लाग्न सक्छ । उमेर अन्तर धेरै हुँदा दुवै पार्टनर कुनै पनि कुरामा एउटै रायमा पुग्न सक्दैनन् ।
सधैँ विवाद हुन्छ । जेठो पार्टनरले सम्बन्धमा बढी हाबी हुने प्रयास गर्छ । दुवै पार्टनरमा आफ्नो लक्ष्य, बच्चा बच्ची र प्रतिबद्धतामा एउटै खालको सोच हुन्न । दुवैले एक अर्का अनि सम्बन्धलाई बदल्ने कोसिस गर्छन् । दुवैले भावनात्मक, आर्थिक अनि सामाजिक रूपमा एक अर्कालाई नियन्त्रण गर्छन् ।
सफल सम्बन्धको लागि उमेरको आदर्श अन्तर कति हो ?
समस्या नै नआउने त कुनै पनि सम्बन्ध हुन्न । हरेक सम्बन्धमा कुनै न कुनै चरणमा समस्याहरू आउँछन् । जर्नल अफ पपुलेशन इकोनोमिक्समा भनिएअनुसार कुनै पनि सम्बन्धमा पार्टनरहरूबिच शून्य देखि ३ वर्षको अन्तर छ भने अलिअलि समस्या आउन सक्छ । यो अन्तर ४ देखि ६ वर्षबिच छ भने यसबाट अप्ठ्यारो झनै बढ्न सक्छ । यसबाहेक ७ वर्षभन्दा धेरै अन्तरको तुलनामा ४ देखि ६ वर्षबिचको अन्तर भएको सम्बन्ध बढी सन्तोषजनक हुन्छ ।
उमेरको अन्तरले साँच्चै अर्थ राख्छ त ?
उमेर अन्तरले सम्बन्धमा सन्तुष्टी र दिगोपनामाथि असर पार्छ भन्छिन् रिलेशनशिप कोच कोमल सिंह । तर सफल र खुसीयालीले भरिएको सम्बन्धमा यो एउटा मात्रै कारक नहुने उनी बताउँछन् । तपाई र तपाईँको पार्टनरबिचको उमेर अन्तर १० वर्ष वा सोभन्दा धेरै छ तर पनि सम्बन्ध बलियो छ भने अनुसन्धानको आकडालाई हेरेर हतोत्साहित नहुन उनले सुझाव दिएकी छिन् ।
कुनै पनि सम्बन्धलाई बलियो बन्डिङमा अनेकौँ कारक हुन्छन् । तर तपाईँले कसैसँग डेट गरिरहनु भएको छ तर ऊसँगको सम्बन्धमा कनेक्सन नभएको महसुस हुन्छ भने चाँहि उमेरको अन्तरलाई पनि ध्यान दिनु पर्ने सिंह बताउँछिन् । अटलान्टाको इमोरी विश्वविद्यालयले गरेको एउटा अध्ययनले भने सम्बन्धमा १० वा २० वर्षभन्दा बढीको उमेर अन्तरलाई नारकीय बताएको थियो ।
पार्टनरहरुबीचको उमेर अन्तर ५ वर्ष हुँदा सम्बन्ध बिग्रने सम्भावना १८ प्रतिशत बढेको अनुसन्धानले देखाएको छ । १० भन्दा धेरैको अन्तरले सम्बन्ध बिग्रने आशङ्का ३९ प्रतिशत थियो । उमेर अन्तर २० वर्षभन्दा माथि पुग्दा सम्बन्ध सफल हुने सम्भावना नगण्य थियो । यस्तो सम्बन्ध टुट्ने सम्भावना ९५ प्रतिशत थियो ।