काठमाडौं : चेक गणतन्त्रको राजधानी प्रागस्थित एउटा विश्वविद्यालय परिसरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जना मारिएका छन्। बन्धुकधारीले प्रागस्थित चार्ल्स विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएका थिए।
उक्त आक्रमणमा २४ जना घाइते भएका बताइएको छ। आक्रमणबा बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो। कतिपयले भवनका छतबाट समेत हाम फालेका थिए।
बन्दुकधारी चार्ल्स विश्वविद्यालयकै २४ वर्षीय विद्यार्थी रहेका पुष्टि भएको छ। उनी मृत भेटिएका छन्। उनले आफैंलाई गोली हानेर आत्महत्या गरे वा प्रहरी कारबाहीमा मृत्यु भएको हो भन्ने स्पष्ट भएको छैन। बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन।
यसअघिका केही हत्याकाण्डमा समेत उनको संलग्नता भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। राष्ट्रपति पेत्र पाभेलले घटना चेकको इतिहासमै सर्वाधिक त्रासदीपूर्ण भएको बताएका छन्।
चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो विश्वविद्यालय हो। युरोपकै पुराना संस्थाहरुमध्ये एक मानिने चार्ल्स विश्वविद्यालय अध्येता तथा पर्यटकहरुका लागि समेत आकर्षणको केन्द्र मानिन्छ।