चितवन : नेकपा एकीकृत समाजवादी चितवन जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले सो पार्टी परित्याग गरेका छन् ।
शनिवार संयुक्त विज्ञप्ति जारी गरी लामिछाने र विकले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । एकीकृत समाजवादीको नेतृत्व दिनानुदिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाइस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शून्य भएको र वैचारिक सांगठनिक नेतृत्व दिन असक्षम रहेको भन्दै पार्टीमा रहेर समय र ऊर्जा खर्चिनु निरर्थक भएकोले परित्याग गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि हुन नसकेको पार्टीको नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको यो पार्टी दिशाहीन अवस्थाबाट गुज्रिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । पाँच दलीय सत्ता गठबन्धनको पासोमा बेरिएर समाप्तिको बाटो समातेको नेतृत्वले पार्टीलाई बदल्ने कुनै गुञ्जायस राखेको पाइएन, जिल्ला सचिव लामिछानेले भने- जसको कारण दिनहुँ नेता कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् ।






