काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो । पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ ।
कात्तिकमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि ४३ करोड ९९ लाख रुपियाँको अर्को रकमान्तर भएको छ । मङ्सिरमा सडक तथा ट्राफिक सुरक्षा उपशीर्षकबाट राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमका लागि तीन करोड रुपियाँ रकमान्तर गरिएको छ ।
अर्थ मन्त्रालयले यसबिचमा एक करोड नौ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । जसमध्ये एक करोड रुपियाँ इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँका दरले दिइएको निकासा रहेको छ । बाँकी नौ लाख ८५ हजार रुयिपाँ भने राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत गरिएको निकासा रहेको छ । गोरखापत्र





