काठमाडौं : कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको संस्थाले गरेको कार्यक्रममा प्रमुख अतिथि शेरबहादुर देउवा थिए ।
अन्य दिनजस्तै देउवाले संक्षिप्तमा आफ्नो मन्तव्य राखे । उद्घोषक मीनबहादुर विश्वकर्माले कार्यक्रम समापन गर्न पनि आग्रह गरेका थिए । देउवाले मन्तव्य राखेर ‘जय नेपाल’ भनिसकेपछि विश्वकर्माले सम्झाए, समापन पनि गर्दिनुस् ।
त्यसपछि देउवाले भने, ‘यो कार्यक्रम समापन भएको घोषणा गर्दिन्छु । यसपछि पनि अर्को कार्यक्रम छ ।’ देउवाले सभा समापन भएको घोषणा गर्नासाथ हलको पछाडि रहेका नेविसंघका कार्यकर्ताले नाराबाजी शुरू गरे, ‘शेरबहादुर दाइ जिन्दावाद !’ चर्को स्वरमा नाराबाजी भएपछि मञ्चबाटै देउवाले भने, ‘भयो भयो, पुग्यो ।’
त्यसपछि हलमा हाँसो गुञ्जियो । मन्तव्यका क्रममा देउवाले कृष्णप्रसाद भट्टराई नेपालको राजनीतिमा कुनै दाग नलागेको व्यक्ति भएको बताएका थिए ।





