काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित दर्ता गराएको छ। मधेसले सोमबार भएको खेलमा गण्डकी प्रदेशमाथि २७ रनको जित निकालेको हो।
सात प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी आठ टिमबीच लिग चरणमा मधेसले यसअघि लगातार तीन खेलमा पराजय भोगेको थियो।
सोमबार मुलपानीमा पहिले ब्याटिङ गरेको मधेशले ७ विकेटको क्षतिमा ११२ रन जोडेको थियो। उसका लागि पूजा महतोले ३८ रन र सरस्वती चौधरीले नटआउट २६ रन जोडे। बलिङमा गण्डकीकी सुमन खतिवाडाले ३ विकेट लिइन्।
११३ रनको लक्ष्य पछ्याएको गण्डकी २ बल खेल्न बाँकी छदा ८५ रनमै अलआउट भयो। गण्डकीको लागि सुमन खतिवाडाले ४२ रन जोडे पनि अरु ब्याटर चल्न सकेनन्। बलिङमा मधेशकी पूजा महतोले ३ विकेट लिइन्।
गण्डकीले चार मध्ये तीन खेलमा हार बेहोरिसकेको छ।
यता आजै भएको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई ३० रनले हरायो। कर्णाली लगातार चार खेलमा पराजित भएको हो भने लुम्बिनीले दोस्रो जित निकालेको हो।





