तनहुँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता र न्याय हुन आवश्यक रहेको बताएका छन् । सोमबार तनहुँमा पार्टीको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवनको उद्घाटन समारोहमा सभापति देउवाले पार्टीभित्र सबैलाई न्याय हुने हिसाबले काम गर्नुपर्ने बताए ।
‘चुनावका समयमा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘जित्ने मान्छेलाई हेरेर टिकट दिने हो । सबैले एकैपटक टिकट पाउने भन्ने हुदैन । टिकट अहिले नपाए अर्कोपटक पाइन्छ । त्यसैले पार्टीलाई विश्वास गरेर एकताबद्ध हुन आवश्यक छ ।’
सभापति देउवाले देश अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै अहिलेको गठबन्धनले संघीय गणतन्त्रलाई मजबुत बताउने काम गरेको दाबी गरे । अहिलेकै अवस्थामा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै उनले अन्य पार्टीहरूसँग सहमति र सम्झौता गरेर सरकार बनाउनुपर्ने आवश्यकता र बाध्यता रहेको बताए ।
पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको उनको भनाइ छ । ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ । संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेसलाई ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ,’ उनले भने ।
कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको बताए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुको विकल्प नभएको उनको भनाइ छ ।
तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुन्छ’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै अघिसम्म आवश्यक छ ।’
कार्यक्रममा पूर्वमहामन्त्री डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतले सम्बोधन गरे । कांग्रेसले भवन निर्माणका जग्गादाता तथा चन्दादातालाई सम्मान समेत गरेको छ । ८ आना क्षेत्रफलमा निर्माण भएको भवन करिव २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको कांग्रेसले जनाएको छ ।





