‘अबको निर्वाचनमा मा‌‌‌ओवादी कसैको बैसाखी टेक्दैन, आफ्नै खुट्टामा उभिन्छ’: जनार्दन शर्मा

२०८० पुष ९, सोमबार

काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आगामी २०८४ मा हुने निर्वाचनलाई भन्दा जनताका मुद्दालाई मिसन बनाएर अघि बढ्नुपर्ने बताएका छन्। कोटेश्वरमा आयोजित माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हु्न्।

‘हामी मिसन ०८४ होइन, मिसन रोजगारी, मिसन सुशासन र मिसन विकास भनेर लागौँ’, उनले कार्यकर्तालाई भने, ‘एउटा निर्वाचन सकिनेबित्तिकै अर्को चुनावको तयारी गर्ने विषयले देशको मुख्य कुरा नै ओझेलमा पर्‍यो।’ माओवादी बागमती प्रदेश इन्चार्जसमेत रहेका शर्माले समाजवादी फोरजी, फाइभजीको गतिमा दौडिरहँदा पार्टी भने टुजी जस्तै भएको बताए। ‘माओवादी टुजी जस्तै भयो तर समाज पाँचौँ, छैटौँ जेनेरेशनमा पुगिसक्यो’, उनले भने, ‘त्यही भएर अब माओवादी सिक्सजी भएर अघि बढ्नुपर्छ।’

शर्माले समाजको नेतृत्व गर्न खोज्नेले विचार र मुद्दामा जनतालाई कन्भिन्स गर्न उनीहरूभन्दा अगाडि हुनुपर्ने पनि बताए।
सम्बोधनका क्रममा उनले अब माओवादी आफ्नै खुट्टामा उभिने पनि बताए। ‘अबको निर्वाचनमा हामी कसैको बैसाखी टेक्दैनौँ, आफ्नै खुट्टामा उभिन्छौँ’, उनले अगाडि भने।

शर्माले आफ्नो सम्बोधनका क्रममा अब कार्यकर्ताले नेता बनाउने र लोकतान्त्रिक अभ्यासबाट कमिटी निर्माण गर्नुपर्ने बताए। उनले अब पार्टीले काम गर्न सक्नेलाई अवसर दिनुपर्नेमा पनि जोड दिएका छन्। माओवादीलाई नयाँ ढंगले पुनपरिभाषित र पुनर्सङ्गठित गर्नुपर्ने बताउँदै संगठनलाई स्मर्ट बनाउनु पर्ने आवश्यकता रहेको पनि उल्लेख गरे। शर्माले तीन महिने रुपान्तरण अभियानअन्तर्गत बागमती प्रदेशका ११ सय २१ वटा वडाको सम्मेलन सकिएको पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार