डोटी : डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षक राति मदिरा सेवन गरी आफ्नै विद्यार्थीलाई कुट्न गएका छन् ।
शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरी शनिबार राति करिब १२ बजे दिपायल सिलगढी नगरपालिका–४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेका हुन् । घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएका पीडित विद्यार्थीहरु बताउँछन् ।
केही समय पहिले विद्यार्थीहरुबीच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर कचिङ्गल गरेको प्रहरीको भनाइ छ । घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल भईरहेको प्रहरीले बतायो ।





