गृहमन्त्रीलाई रविले भने : तपाईं डराउनु पर्दैन, रास्वपा सरकारमा आउने ‘रेस’मा छैन

२०८० पुष १६, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कटाक्ष गरेका छन्। संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे डाकिएका गृहमन्त्री श्रेष्ठमाथि लामिछानेले आक्रोश पोखेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले प्रहरीले मन्त्रीको आदेश नै मान्न छाडेको बताउँदै त्यसका कारण समग्र सुरक्षा व्यवस्था पनि प्रभावित भएको बताए।

‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको हो, तपाईंको स्पिरिटअनुसार प्रहरी-प्रशासनले काम गर्न छाड्यो’, उनले बैठकमा भने, ‘अब नैतिकताको प्रश्न खडा भएको छ। म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिनँ। तर गृह प्रशासनलाई काम गर्न दिने अवस्थामा छैन।’ लामिछानेले चुनाव हारेलगत्तै राष्ट्रिय सभामा आएर मन्त्री बन्नु राम्रो नभएको पनि बताए।

‘तपाईं एउटा पदका लागि बस्ने मान्छे जस्तो नलागेको भए पनि दिनदहाडै मानिसहरूको मृत्यु भइरहेको बेलामा चुनाव हारेकै बेलामा राष्ट्रिय सभामा आइपुग्नु र गृहमन्त्री बन्नु राम्रो होइन’, उनले भने। लामिछानेले गृहमन्त्री श्रेष्ठले बाटो बिराउँदै गएको शंका पनि गरे। ‘तपाईं बाटो बिराउँदै त हुनुहुन्न?’, रविले सोधे।

बैठकमा बोल्दै लामिछानेले आफूहरू तत्काल सरकारमा आउने सम्भावना नरहेको पनि बताए। ‘तपाईंलाई हामी सरकारमा आउन लाग्यो भन्ने लाग्यो कि के हो? त्यही भएर डराउनुभएको हो?’, उनले गृहमन्त्रीलाई सोधे, ‘हामी कुनै हालतमा सरकारमा आउने ‘रेस’मा छैनौँ। तपाईं यो कुरामा ढुक्क हुनुस्, हामी सरकारमा आएर मन्त्रालय लिदैनौँ।’

पछिल्लो समय लामिछाने सरकारमा फर्किने दौडमा रहेको चर्चा छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारमा आउने विषयमा छलफल पनि गरेका थिए। तर तत्काल रास्वपाले खोजे जस्तो मन्त्रालय दिने पक्षमा गठबन्धन छैन। रवि आफैं सरकारमा आए गृहमन्त्रालय लिने गरी छलफलमा रहेको बताइएको थियो। तर, उनले बैठकमा आफूहरू तत्काल सरकारमा नआउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार