रुसी सेनामा भर्ती भएका पाँच जना सम्पर्कविहीन

२०८० पुष १६, सोमबार

तनहुँ : रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् ।

परिवारजनले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका हुन् । व्यास नगरपालिकाको वडा १, ४, १३, भानु नगरपालिका –१ र देवघाट गाउँपालिका –३ का गरी पाँच जनाले स्वदेश फिर्ता गरिदिन निवेदन दिएको केन्द्रकी परामर्शदाता गोमा तिवारीले जानकारी दिए ।

एक महिना अघिदेखि घरपरिवारसँग सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको तिवारीले जानकारी दिए । निवदेनमा एजेन्टमार्फत पाँच लाखदेखि ६ लाख रुपियाँ तिरेर भिजिट भिसामार्फत गएर रुसी सेनामा भर्ती भएको उन ले जानकारी दिए ।  सम्पर्कविहीन भएपछि खोजी गरिदिन कार्यालयमा आएको तिवारीले जानकारी दिए।

आफ्नो दाइ एक महिना अघिदेखि सम्र्पकमा नआउँदा परिवारजन चिन्तामा डुबेको व्यास नगरपालिका –१ की महिलाले बताए । नाम बताउन नचाहनु भएकी उनले दाइ बेरोजगार भएपछि धन कमाउँछु भनेर रुसी सेनामा भर्ना हुन गएको र त्यसका लागि ६ लाख खर्च गरेको बताए ।

भिडियो फोनमा भएको कुराकानी क्रममा दाइले तालिम पछि लडाइ भएको क्षेत्रमा जानुपर्ने भएकाले त्यस अवधिभरि कुराकानी हुन नसक्ने बताएको उन ले जानकारी दिए । उनले भने, “कार्यक्षेत्रमा मोबाइल फोन प्रयोग गर्न नदिने त्यसैले चिन्ता नलिन र धन कमाएर घर फर्किने बताएको थियो । त्यसयता दाइसँग सम्पर्क हुन सकेको छैन ।’’

केन्द्रका परामर्शदाता हर्षित गुरुङ तनहुँमा थुप्रै व्यक्ति रुसी सेनामा भर्ती भएको हुनसक्ने बताए । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिन डराएको थोरै सङ्ख्यामा मात्र निवेदन आएको अनुमान गरिएको उनले बताए । राहदानी बनाएपछि परामर्श लिन आउनेलाई भर्ना नहुन आग्रह गरेको गुरुङले बताए । गुरुङले भने, “नेपाल सरकारले प्रतिबन्ध लगाएकाले फिर्ता ल्याउन र मृत्यु भएमा क्षतिपूर्तिको लागि पहल गर्न कानुनी रुपमा जटिल हुन्छ, कोही पनि लहलहैमा रुसी सेनामा भर्ती हुनुहुँदैन ।’’

जिल्ला प्रशासन कार्यालयले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा परामर्श लिने व्यवस्था गरिएको छ । बैदेशिक रोजगारीमा जोखिम नपरुन र नठगिउन् भन्ने उद्देश्यले अनिवार्य परामर्श लिनुपर्ने प्रावधान राखिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार