बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ ।
यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो ।यशोधरा बौद्ध महिला समाजका अध्यक्ष यशोधरा गुरुमा, शाक्य समाजका अगुवा सेम शाक्य लगायतको उपस्थितिमा बौद्ध मूर्तिको विधिवत् स्थापना गरिएको हो । शाक्य समाजका अध्यक्ष सेम शाक्यले अस्पताल विकास समितिको समन्वयमा भगवान बुद्धको मूर्ति राखिएको बताए ।
शाक्यले भने, ‘‘अस्पताल परिसरमा शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ती भएपछि विरामी, कुरुवा तथा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा पनि शान्तीको वातावरण हुने अपेक्षा गरेका छौं ।’’ अस्पतालभित्र उपचारका लागि प्रवेश गर्नुभन्दा अगाडि शान्तिका अग्रदूत भगवान बुद्धको दर्शन गरी मनमा शान्तिको अनुभूती हुने उनको भनाइ छ । ललितपुरका अमिरमान शाक्यले यो मूर्ती उपलब्ध गराएका हुन् ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भगवान बुद्ध धार्मिक हिसावले मात्रै नभई शान्तिका अग्रदूत भई नेपालको नाम विश्वमा चिनाउन सफल भएकाले अस्पताल परिसरमा उनको मूर्ती राख्न सहमति दिइएको बताए ।





