काठमाडौं : युरोप पठाइदिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ परेका छन् । आकर्षक तलब हुने भन्दै ठगी गरेको आरोपमा ४१ वर्षीय जयराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका-१ का पौडेलले १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने भन्दै प्रलोभन देखाएर ठगी गरेका हुन् । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।





