ललितपुर : विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यस पटक छाना फेरिएको हो ।
ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिए ।
उनका अनुसार सांस्कृतिक महत्त्व बोकेको सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो । पानी चुहिने समस्याका कारण पटक पटक मर्मत गरे पनि यस पटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिए। उनले भने, ‘लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ । लामपाटीमात्र नभएर अन्य सम्पदाको छाना पनि फेर्नुपर्ने जरुरी छ ।’
छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लामपाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले जनाए । उनले भने, ‘यदि झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण लामपाटीमा प्रयोग गरेको धेरै झिङ्गेटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो ।’





