बम्जनको घरमा पानी पुर्‍याउने मान्छेको सहारा लिएर भित्र छिरेको थियो सीआईबी

२०८० पुष २५, बुधबार

काठमाडौं : बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ ।

उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो । बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ गर्न सफल भएको बताइन् ।

“हाम्रो टोलीले निरन्तर प्रयास गरेको थियो । केही दिनदेखि उनको मुभमेन्ट हात्तीगौडामा देखिएपछि हाम्रो टोली मंगलबार पक्राउ गर्न सफल भएको हो,” एआईजी बज्राचार्यले भनिन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।

त्यही कारण ६ बजे नै घर पत्ता लागाएको प्रहरीले भित्र छिर्ने उपायको खोजी गर्दा एक घण्टा लाग्यो । प्रहरीले बम्जनको घरभित्र छिर्न प्रयास गरिरहेकै बेला एकजना उनको घरमा पानीको जार पुर्‍याउने मानिस आइपुगे । उनले घरको बेल दिए । सधैँ पानी पुर्‍याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पस्यो । सीसीटीभी मनिटरिङ गर्ने रुममा त्योबेला कोही थिएन । बम्जन तरकारीसित रोटी खादैँ थिए ।

त्यहीबेला प्रहरी भित्र छिरेको चाल पाएर भाग्न खोज्दा उनी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
4
+1
0
+1
1

ताजा समाचार