काठमाडौं : बलात्कार तथा बेपत्ता पारेको अभियोगमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले आज सार्वजनिक गरेको थियो । आज सार्वजनिक भएका बम्जनलाई सर्लाही जिल्ला पठाइएको छ । हिजो बेलुका पक्राउ परेका बम्जनको घरमा पुग्दा देखिएका यी सरसमानहरुको तस्वीर प्राप्त भएको छ ।

ब्लेड वायरको घेरा लगाएको घरभित्र बम्जनले जिमखाना नै खडा गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘त्यहाँ उनी नियमित जिम गर्दा रहेछन् ।’ घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको छ । बम्जन कराँते पनि खेल्छन् । सर्लाहीमा मुद्दा दर्ता भएपछि सीआईबीको टोलीले सिन्धुलीमाढीस्थित उनको आश्रममा छापा मारेको थियो । छापा मार्न गएका एकजना अधिकृत भन्छन्,‘त्यहाँ कराँते हल बनाएका थिए, त्यहाँ उनले कराँते खेल्ने गरेका थिए ।’
२०७६ माघ २४ मा सर्लाही प्रहरीले ७७ जिल्लामा बम्जनलाई खोजतलास गर्न पत्राचार गरेसँगै देशभरका प्रहरीले उनको खोजी तीव्र बनाए । तर, उनी ४ वर्षसम्म प्रहरीको आँखा छल्न सफल भएका हुन् ।





