काठमाडौं : मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कि अन्सारीले पानी सुन्दरीजल खसेको पुष्टि गरे । उनले भने, ‘‘बिहीबारदेखि मेलम्चीबाट सुरुङ्मा छाडेको पानी सुन्दरीजल आइपुगेको छ । सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने उनले बताए । प्रशोधन सकेर दुई दिनपछि अर्थात् माघ १ गतेबाट पानी वितरण गर्ने तयारी रहेको उनले सुनाए ।
उनले भने, सुन्दरीजलमा पानी जम्मा गरेर प्रेसर मापन गर्छौ । त्यसपछि पानी प्रशोधन गरिन्छ । सबैकाम सकेर माघ १ गतेबाट वितरण गर्नेगरि काम गरेका छौँ । गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो।समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो।
उपत्यकामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो ।





