काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घले आइतबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताएका हुन्।
उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेकाले प्रयास जारी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किरात प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए ।
उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको चर्चा गरे । त्यसमा पहल गर्ने प्रतिबद्धता समेत जनाए । देशभक्तिको पक्षमा, जनताको परिवर्तन मुद्दाको पक्षमा, निरङ्कुशताका विरुद्ध, लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहीदहरुप्रति उच्च सम्मान रहेको उनले बताए । नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले भने, ‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको भूमिका अग्रणी रहेको कुरा इतिहास सिद्ध छ ।’
आज पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिकमा रहेको उनले बताए । नेपालका प्रथम सहिद लखन थापालगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्त्वपूर्ण रहेकाले उचित मूल्याङ्कन हुनुपर्ने उनले बताए । यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले राणा शासनको अन्त्य भएको उनले चर्चा गरे । नेपालको क्रान्तिकारी आन्दोलनमा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नै पर्छ उनले भने ।
देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुन्छ भन्ने मेरो विश्वास छ उनले भने, “यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल भइरहेको र पहल गरिने विश्वास पनि म तपाईँलाई दिलाउन चाहन्छु । म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किरात प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो ।’
प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि उनले बताए ।





