काठमाडौँ : माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार राजनीतिक दलका नेताका लागि शीतल निवासमा दिवा भोजको आयोजना गरेका थिए ।
ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेकोले उपस्थित हुन नसकेको स्रोतले बतायो । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरू दिवा भोजमा सहभागी भएका थिए । यस्तै उपेन्द्र यादव, महन्थ ठाकुर, अमरेशकुमार सिंह र प्रभू साह उपस्थित थिए ।
कार्यक्रममा सहभागी हुनु परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० बजे नै शीतलनिवासबाट बाहिरिएका थिए ।





