धनुषा : धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा १ महिने मकर मेला सुरु भएको छ। हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीयले बताए।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ। यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ। जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ।





