चितवन : विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर वस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक वि.क.भरतपुर महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।





