भैरहवा : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामाका अनुसार भेटमा जापानिज वास्तुविद् केन्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्धनका लागि सहकार्यका विषयमा छलफल भएको छ ।
राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । उपाध्यक्ष डा. लामाले लुम्बिनीको गुरुयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने योजना रहेको समेत बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि आग्रह गरे । भेटमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिति थियो ।
यसैबिच चिनियाँ नयाँ वर्षको अवसर पारेर लुम्बिनीमा चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने, “प्रत्येक दिन, प्रत्येक महिना हजारौँ चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउँ, त्यो दिनको पखाईमा छौँ ।” उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान् बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यही दिन खिर बाँड्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा राजदूत सोङ्गले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीहरूले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्ध जन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले नेपाल र चीनबिचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।





